संघीय संसद् अन्तर्गत आज चार समितिको बैठक बस्दै

Jantedhunga

काठमाडौं : संघीय संसद् अन्तर्गत शुक्रबार चार समितिको बैठक बस्दैछ। प्रतिनिधिसभाका तीन र राष्ट्रिय सभाको एक बैठक बस्न लागेको हो।

राज्यव्यवस्था तथा सुशासन समितिको ७६ औँ बैठक  बिहान साढे ८ बजेका लागि बोलाइएको छ। बैठकमा नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०८१ माथि संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यसूची छ।

यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा आगामी असार २ र ३ गते हुने हिन्दकुश हिमालयका जनप्रतिनिधि सहभागी रहने सम्मेलनबारे छलफल हुनेछ। उक्त कार्यक्रमबारे वन तथा वातावरण, परराष्ट्र मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग छलफल गर्ने कार्यसूची छ। बैठक बिहान साढे ८ बजे बस्नेगरी बोलाइएको छ।

सार्वजनिक लेखा समितिको बैठक बिहान १०ः३० बजे बोलाइएको छ। बैठकमा २३औँ वार्षिक प्रतिवेदनको मस्यौदा वितरण गर्ने कार्यसूची छ।

राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समितिको ७३ औँ बैठक आज बस्दै छ। बिहान ९ बजे बस्ने बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ

Jantedhunga
प्रतिक्रिया