समाजवादी प्रेस संगठनद्वारा पत्रकार सुरेश रजकको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

Jantedhunga

काठमाडौ । समाजवादी प्रेस संगठन नेपालले राजावादी आन्दोलनको समाचार संकलनको क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

संगठनका अध्यक्ष शम्भु श्रेष्ठको नेतृत्वमा शनिबार दिउँसो निवासमै पुगेर रजककी पत्नी सुजन मगिया रजक र दाजु दिनेश रजकलाई  ५० हजार नगद सहयोग  हस्तान्तरण गरेको हो ।

सहयोग रकम हस्तान्तरण गर्न संगठनका अध्यक्ष श्रेष्ठसहित, उपाध्यक्ष अस्मिता गिरी, महासचिव रोहित दाहाल, उपमहासचिवद्धय प्रेम गौतम, लेखनाथ सिकारु, सचिव प्रदिप नेपाली, केन्द्रिय सदस्यहरु निरोज दोलाङ्गे, मिलन उपाध्याय सहित अन्य सदस्यहरु पुगेका थिए ।

आर्थिक सहयोग हस्तान्तरण गर्दै अध्यक्ष श्रेष्ठले समाजवादी प्रेस संगठन नेपाल पत्रकारको हकहित र भौतिक सुरक्षाका निम्ति संवेदनशील रहेको बताए । पत्रकारको सुख, दुःखमा संगठन, सदैव साथसाथै हुने उनले बताएका छन् ।

यस्तै संगठनले रजकलाई सहिद घोषणा गर्न माग गरेको छ । भिडियो खिचिरहेको अवस्थामा आगो लगाएर रजकको रहस्यमय हत्या गरिएको भन्दै संगठनले उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरेर अनुसन्धान गरेर शहीद घोषणा गर्न र परिवारलाई उचित राहत उपलब्ध गराउन सरकारसँग माग गरेको हो ।

गत चैत १५ गते राजावादी समूहले गरेको प्रदर्शनको समाचार संकलनका क्रममा घरभित्र रहेका रजकको जलेर मृत्‍यु भएको थियो ।

Jantedhunga
प्रतिक्रिया