जन्तेढुंगा न्युज डेक्स
खोटाङ । विपद् हरेक वर्ष आउने गर्दछ । सरकार र जोखिमपूर्ण क्षेत्रमा बसोबास गर्ने बासिन्दा नै धेरै सचेत र सजग बन्नुपर्नेमा त्यस्तो देखिएन । अन्ततः शनिबारदेखि कोशी प्रदेशका पहाडी जिल्लामा आएको अविरल वर्षाबाट पनि ठूलो क्षति भईसकेको छ । ४ जनाको निधन भएको भनिए पनि एक जनाको मात्र पहिचान खुलेको प्रहरीले जनाएको छ । त्यस्तै २८ जना हराईरहेकोमा २२ जनाको पहिचान खुलेको छ ।
गए राति आएको बाढीले पाँचखपन–९ का २६ वर्षीय सन्तोष राईको निधन भएको छ । शनिबार राति वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बाढीले चैनपुर–४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरका १७ जना बेपत्ता भएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।
वेपत्ता हुनेमा सुपर हेँवा हाइड्रोपावरका सुपरभाइजर सन्तोष ढकाल (सुनसरी), भुवनसिंह तामाङ (चैनपुर नगररपालिका) , सुवास राई (सङ्खुवासभा) , फैजबहादुर कार्की (झापा) , गणेश गिरी (धनकुटा), राजकुमार मगर (इलाम), मीना श्रेष्ठ (झापा) , रामजतन थारु (कैलाली), बर्दियाबाट राहुल थारु रोहित थारु, पुलसन थारु, कालीराम थारु, राजराम थारु छन । यस्तै कैलालीबाट सुगत थारु, अमर थारु, सीता थारु र दीपक मगर (सङ्खुवासभा) छन् ।
त्यस्तै गरी सभापोखरी गाउँपालिका–३ सुनाम्लामा गोठ बगाउँदा ६० वर्षीय गणेश राई र ६१ वर्षीया सञ्चमाया राई बेपत्ता भएका छन् । चैनपुर नगरपालिका–१ नुनढाकीमा बर्दिया नगरपालिकाका भीम चौधरी, अप्पर हेवाखोला हाइड्रोपावरका मजदुर चैनपुर नगरपालिका–४ का ५० वर्षीय ज्ञानबहादुर लिम्बू बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीले बगाउँदा सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने दुई जना मजदुर घाइते भएका छन् ।
घाइते हुनेमा बर्दिया नगरपालिका –७ का २४ वर्षीय टीकाराम चौधरी र ३५ वर्षीय दीपकराज थारु छन् । गम्भीर घाइते दुवैको हेल्पिङ हेन्स सामुदायिक अस्पताल चैनपुरमा उपचार भइरहेको छ । चैनपुर नगरपालिका ४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो परिमाणमा भौतिक संरचनाको क्षति भएको हो ।
मौसम पूर्वानुमान महाशाखाले मनसुन शुरु हुनुभन्दा अगाडि नै यस वर्षको मनसुन कोशी प्रदेशबाट प्रवेश गर्ने सूचना दिएको थियो । मौसम पूर्वानुमान महाशाखाले भने अनुसार नै मनसुन भित्रियो ।
प्रत्येक वर्ष विपद्का यस्ता घटना बढ्दै गए पनि तीनै तहका सरकारले पूर्व तयारीमा चरम लापरबाही गर्दा क्षतिका घटना बढ्दै गएका छन् । कतिसम्म भने मनसुन सुरु भइसक्दा पनि प्रदेश सरकारले पूर्व तयारी कसिलो तुल्याउन सकेको छैन । स्थानीय सरकारहरु पनि यसमा उदासिन नै देखिएका छन् । सरकारले सम्भावित जोखिम क्षेत्रको नक्सांकनसमेत समयमा गर्न सकेको छैन ।
विपद्को सामान खरिदको ठेक्का लागेर सामग्रीहरू प्राप्त गर्ने अवस्थामा रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव तथा प्रवक्ता अर्जुन निरौलाले बताए । जिन्सी शाखाका कर्मचारीहरू बिदामा भएकोले उनीहरु आएपछि सामग्री बुझ्ने उनले बताए ।
संखुवासभा, खोटाङ, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गालगायतका जिल्लामा त्रिपाल, कम्मल लगायतका सामग्रीहरू मन्त्रालयले पठाएको छ । विपद् व्यवस्थापन कार्य योजना विषयमा छिट्टै बैठक बसेर टुङ्गयाउने उनले बताए । आन्तरिक मामिला तथा कानून मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री हिकमतकुमार कार्कीले विपद् पूर्व तयारीलाई प्राथमिकता राखेका छैनन् । उनलाई पछिल्लो समय आफ्नै सरकार टिकाउन समस्या देखिएको छ । माओवादी र जसपाले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा छ । उनले यही असार १५ गतेभित्र विश्वासको मत लिनु पर्ने वाध्यता छ । सरकारले पूर्वतयारी स्वरूप ‘क्विक रेस्पोन्स टिम’ बनाउने तथा उद्धार गर्न चाहिने ट्युब, डोरी, बोटजस्ता सामग्री तयारी अवस्थामा राख्नुपर्ने भए पनि अहिलेसम्म सामग्री मन्त्रालयमा आइपुगेको छैन ।
जोखिमयुक्त क्षेत्रका बासिन्दाका लागि सुरक्षित वासस्थानका लागि कुनै तयारी समेत सरकारले गरेको छैन । बाढी पहिरोबाट विस्थापित बनेपछि सरकार चाउचाउ, बिस्कुट, नुन, तेलजस्ता खाद्यान्नका सामग्री बोकेर जाने भन्दा केही गर्न सकेको छैन ।अघिल्लो पटक जस्तै यसपटक पनि प्रदेश सरकारकार खानेपानी तथा सिँचाइ मन्त्री तिलकुमार मेयाङवो बाढी पहिरो पीडितलाई राहत दिन ताप्लेजुङ पुगेका छन् । यता प्रहरीले भने उद्धार तथा राहतका लागि खट्दा चाहिने सामग्री नभए पनि जोखिम मोलेर काम गरिरहेको जनाएको छ ।
उद्धार तथा राहतका लागि कोशी प्रदेशका १४ जिल्लाका लागि झापाको चन्द्रगढीस्थित गुल्ममा प्रहरी राखिएको छ । तर उद्धार तथा राहतमा तुरुन्तै पुग्ने अवस्था भने नरहेको प्रहरीको भनाइ रहेको छ । १ सय २५ जनाको दरबन्दी भए पनि १ सय ७ जना हाल कार्यरत रहेका छन् । तत्काल ५० जना मात्रै उद्धार तथा राहतमा खट्न सक्ने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो