मधेस केन्द्रित दलहरूले आज मोर्चा घोषणा गर्दै

Jantedhunga

 काठमाडौं । मधेस केन्द्रित दलहरूले आज संघीय लोकतान्त्रिक मोर्चाको घोषणा गर्ने भएका छन् । मोर्चामा सात रहने भएका छन् । मोर्चाको नाम ‘संघीय लोकतान्त्रिक मधेसी मोर्चा’ बताइएको छ ।

यसअघि आठ दलको मधेसी मोर्चाको तयारी भइरहेको थियो । मोर्चामा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी नरहने भएपछि सात दलीय मोर्चा बनाउन लागिएको एक नेताले बताए ।

उनका अनुसार मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, डा सीके राउत नेतृत्वको जनमत पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, रेसम लाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र वृशेषचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी सहभागी हुने भएका छन् ।

मोर्चाको आलोपालो नेतृत्व गर्ने सहमति भएको छ । पहिलो चरणमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गर्ने बताइएको छ । कांग्रेस र एमाले नेतृत्वको गठबन्धन सरकारले संविधान संशोधन गरेर थ्रेस होल्ड बढाउने, समानुपातिक निर्वाचन प्रणाली हटाउने र दुई दलीय प्रणालीको सरकार बनाउने चर्चा बाहिर ल्याएपछि मधेसवादी दलहरू एकीकृत भएका थिए ।

जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले मोर्चा गठनका लागि प्रयास गरेका थिए । उनले मधेस केन्द्रित दलका हरेक नेताहरूलाई भेटी मोर्चाका गठनका लागि कन्भिन्स गरेका थिए । मोर्चा गठनका लागि दुईटा कार्यदल गठन गरिएको थियो । दुइटै कार्यदलले आ–आफ्नो प्रतिवेदन बुझाएपछि मोर्चाको घोषणा हुन लागेको हो ।

Jantedhunga
प्रतिक्रिया